काठमाडौं । नेपाली अभिनेता सौरम राज तुलाधर, जसलाई सौरम आरटी भनेर पनि चिनिन्छ । उनी हलिउडको ठूला पर्दामा आफ्नो यात्रा सुरू गर्ने भएका छन् । उनले हालै एक हलिउड चलचित्रमा हस्ताक्षर गरेका छन्, जुन उनको जीवनयात्रा (करियर)को लागि ऐतिहासिक उपलब्धि हो ।
यस चलचित्रमा सौरमले प्रख्यात अभिनेत्री केरी बिसे, जसले म्याडम वेब चलचित्रमा अभिनय गरेकी छिन् र थोमस साडोस्की, जो जोन विक फ्रेन्चाइजबाट चिनिन्छन् । यस्ता अनुभवी कलाकारहरूसँग सहकार्य गर्नु नेपाली कलाकार सौरमको बढ्दो प्रतिष्ठाको प्रमाण हो ।
सौरमले अमेरिका आएपछि धेरै छोटा चलचित्रहरूमा अभिनय गरेका छन् । उनले धेरै पुरस्कारहरू प्राप्त गरेका छन् । उनले यी परियोजनाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा र बहुमुखी क्षमता देखाएका छन् । अन्य कुशल कलाकारहरूसँग प्राप्त गरेका यी सम्मानहरूले हलिउडमा उनको यो नयाँ कदमलाई थप मजबुत बनाएको छ ।
नेपालमा जिन्दगी रक्स र सदाङ्गा जस्ता चर्चित चलचित्र र हाम्रो टीम जस्तो टिभी शो (दूरदर्शन प्रस्तुति)मा आफ्नो प्रभावशाली अभिनय प्रस्तुत गरिसकेपछि सौरमले हलिउडमा आफ्नो क्षमता प्रमाणित गर्न यो साहसी कदम चालेका छन् । न्यूयोर्क फिल्म एकेडेमी (चलचित्र प्रतिष्ठान)बाट प्रशिक्षण लिएका सौरमले अन्तर्राष्ट्रिय चलचित्र उद्योगमा प्रतिस्पर्धा गर्न आवश्यक सीप हासिल गरेका छन् ।
यो अवसरप्रति सौरमले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यो मेरो लागि सपना जस्तै हो । यति प्रतिभावान कलाकारहरूसँग काम गर्न र हलिउडको प्रोडक्सन (उत्पादन)मा सहभागी हुन पाउनु ठूलो गर्वको कुरा हो । नेपाली कलाकारको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउँदा म धेरै उत्साहित छु ।’