काठमाडौं । गाडी बिग्रियो भने मर्मत गरिन्छ, पुरानो भयो भने बेचिन्छ तर भारतको गुजरातका एक परिवारले यस्तो केही गरेनन् बरु खाल्डो खनेर गाडी गाडिदिए । उनीहरुले आफ्नो कारको अन्तिम संस्कार गरेका हुन् । करिब एक हजार पाँच सय जना मानिसहरुको उपस्थितिमा कारलाई खाल्डो खनेर गाडिएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा गुजरातको अमरेली जिल्लाको लाठी तालुकास्थित पदरसिङ्गा गाउँमा सञ्जय पोलारा र उनको परिवारले आयोजना गरेको कारको अन्तिम यात्रामा सन्त तथा आध्यात्मिक नेताहरूकोसमेत सहभागिता रहेको थियो ।
किसान परिवारका पोलाराले १२ वर्षअघि किनेको वैगन आर कारलाई उनीहरूले भाग्यशाली मानेका थिए । कार किनेपछि परिवारको व्यापार फस्टाएको र सामाजिक प्रतिष्ठा बढेको पोलाराको भनाइ छ ।
कारलाई फूलमालाले सजाएर पोलाराको घरदेखि फार्मसम्म धुमधामका साथ लगिएको थियो । परिवारले पूजा र मन्त्रोच्चारणसहित गुलाबको फूल चढाएपछि माटोले पुरिएको थियो ।
पोलाराले कारको समाधिस्थलमा रुख रोप्ने योजना बनाएका छन् । उनका अनुसार रुखले भावी पुस्तालाई यस घटनाको स्मरण गराउने छ ।