चलचित्र ‘फ्र्याक्चर’को छायाङ्कन सकियो, हलिउडसँग सहकार्य

रंग नेपाल २०८१ कार्तिक २५ मा प्रकाशित

काठमाडौं । पहिलो चलचित्र ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको चलचित्र निर्माण कम्पनी किङ्डम नेटवर्कले आफ्नो दोस्रो चलचित्र ‘फ्र्याक्चर’ निर्माण गरेको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो चलचित्र पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ ।

नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय रहेको छ । यस चलचित्रमा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत अन्य नेपाली कलाकारहरूले पनि काम गरेका छन् ।

किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामासमेत स्थापना गरी यो चलचित्र निर्माण गरिएको निर्माता सुवास भुसालले बताएका छन् । भुसालले यस चलचित्रले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अन्तर्राष्ट्रिय बजार र दर्शकसँग जोड्ने नयाँ प्रयासको प्रतिनिधित्व गर्ने जनाए ।

यस चलचित्रका अभिनेता ट्रेन्टन हलिउड अभिनेता हुन् । उनले ‘हलिउड किल्स’,‘अन्डर द वेस्टर्न सन’, ‘सिरोनिया’, ‘द रेड, ब्ल्याक एन्ड ब्लोन्डः गड सेभ’, ‘बिटविन किंग्स एन्ड क्विन्स’, ‘लस एन्सिनोस’लगायतका चलचित्रहरू र दर्जनौँ टेलिभिजन शृङ्खलामा अभिनय गरेका छन् ।

यस चलचित्रको निर्माणमा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसनलगायतको पनि सहभागिता रहेको छ ।

चलचित्रको लेखन यसका निर्माता क्रिश बेरुटीले नै गरेका छन् । चलचित्रका सिनेमाटोग्राफर डकोटा डियल हुन् । उनले ‘आर्मी अफ द डेड’, ‘नेक्स्ट अफ किन’, ‘एनएफएल ३६०ः द गिफ्ट अफ गाबा’ लगायतका चलचित्रको छायाङ्कन गरेका छन् ।

यो चलचित्रको प्रायः दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ । चलचित्रका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायाङ्कन गरिएको छ ।

‘फ्र्याक्चर’को कथा एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन नेपालको सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । यस चलचित्रमा मानवीय साहस र सङ्घर्षलाई पर्दामा जीवित रूपमा उतारिएको निर्देशक ट्राभिसले जनाए ।

यो चलचित्र कहिले रिलिज गर्ने भन्ने विषयमा भने अहिले नै तय नभएको निर्माता भुसालले बताए । यद्यपि, विश्वव्यापी रिलिजको लागि छलफल भइरहेको उनले बताए। नेपालमा मनोज जोशी प्रोडक्सन कन्ट्रोलरको काम गरेका छन् भने विकास सुवेदी लाइन प्रोड्युसर हुन् ।

निर्देशक रायन अनुभवी चलचित्र निर्देशक, निर्माता र छायाकार हुन्, जसले ’एनएफएल ३६०’ जस्ता प्रोजेक्टहरूमा एमि पुरस्कार जितेका छन् । उनले यसअघि फिचर चलचित्र ‘गेम थेरापी’ निर्देशन गरेका थिए भने ‘केभिन हार्ट’सँगको ‘हार्ट अफ इट अल’ र ईएसपीएनको हिप हपमा आधारित डकुमेन्ट्री ‘द क्रसओभर’ जस्ता प्रोजेक्टहरूको निर्देशन गरेका छन् । उनले ‘नाइकी’, ‘अडी’, र ‘फियाट’ जस्ता ब्रान्डहरूको लागि पुरस्कार विजेता विज्ञापनहरू पनि निर्माण गरेका छन् ।

यस चलचित्रका लेखक समेत रहेका निर्माता क्रिस बेरुटी एमी तथा स्ट्रिमी मनोनीत लेखक तथा निर्माता हुन् । उनले १४ देशका ८ भाषामा विभिन्न प्रोजेक्टहरू निर्देशन गरेका छन् भने युनिसेफ र नेशनल जियोग्राफिक जस्ता संस्थाहरूको लागि ६५ भन्दा बढी देशको यात्रा गरिसकेका छन् । बेरुटीले ‘द एलेन डिजेनेरस शो’, ‘जिमी किमेल लाइभ’, ‘द टुनाइट शो’ जस्ता शोहरुमा काम गरेका छन् भने उनले ‘डेडपूल’का निर्माता जोनाथन कोम्याक मार्टिनको चलचित्र ‘डु नट डिस्टर्ब’ निर्देशन गरेका छन् । साथै, उनले प्यारामाउन्ट पिक्चर्सको ‘मार्गो’ नामक हरर चलचित्र लेखेका थिए, जुन हालै रिलिज भएको थियो ।

अर्का निर्माता गर्रेट म्याडिसनले १४ पटक सगरमाथा आरोहण गरेका छन् । गर्रेटले विश्वकै कठिन र खतरनाक मानिने ‘के टु’ हिमालको पहिलो सफल ’गाइडेड’ आरोहण पनि नेतृत्व गरेका थिए । गर्रेट, हलिउडका एभरेस्ट र अन्य फिल्म निर्माणहरूको लागि नियमित रूपमा परामर्शदाताको काम पनि गर्दै आएका छन् । उनले विभिन्न उच्च–उचाइ आरोहण कीर्तिमानहरू राखेका छन्, जसमध्ये ल्होत्से हिमाल एकै दिनमा पाँच पटक आरोहण गर्ने एकमात्र व्यक्ति हुन् ।

निर्माता एन्ड्र्यू ह्युजले सेभेन समिट्स, अन्टार्कटिका ट्राइफेक्टा, ७ ज्वालामुखी शिखरहरू मध्ये ६, दुर्लभ एक्सप्लोरर्स ग्रान्ड स्लाम, उत्तर ध्रुवीय अनुसन्धान अभियान, थ्री पोल्स च्यालेन्ज, र थप विश्व कीर्तिमानहरू हासिल गरेका छन् ।

हालै मात्र छायाङ्कन सम्पन्न गरी अमेरिकी टिम फर्किसकेको छ । अमेरिका फर्किनु अगाडि चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले अमेरिकी टिमलाई बिदाइ गरेका थिए । बोर्डको तर्फबाट छायाङ्कनको लागि लोकेसन गाइड पुस्तक प्रदान गर्दै नेपाली ढाका टोपी लगाई सम्मान समेत गरिएको थियो । यस क्रममा अध्यक्ष डिसीले नेपाली प्रोडक्सन कम्पनीसँग हलिउडमा काम गरिरहेका अमेरिकी चलचित्रकर्मीले चलचित्र बनाउनु आफैमा सुन्दर रहेको बताए ।

गत जेठ १० गते रिलिज भएको किङडम नेटवर्कको पहिलो चलचित्र ’पुजार सार्की’ले नेपालमा मात्र करिब १० करोडको व्यापार गरेको थियो भने विश्वव्यापी रूपमा रहेका नेपाली समुदायबीच रिलिज भएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट