चलचित्र ‘कर्मा’को मुख्य भूमिकामा विपीन कार्की

रंग नेपाल २०८१ कार्तिक २ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउँदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ ।

निर्माण पक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दै छन्, उनले यसअघि चलचित्र ‘अगस्त्यः च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए ।

निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ ।

चौधरीकाअनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्ने छन् । चलचित्रको छायांकन मंसिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।

निर्देशक चौधरीलाई ‘अगस्त्यः च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट