लोमश शर्माको ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक

रंग नेपाल २०८१ असोज १० मा प्रकाशित

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ ।

बुधबार आफ्नो जन्मदिनको अवसर पारेर लोमशले आफू अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन् ।

गीतमा अहिलेकी चर्चित गायिका शान्ति श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ । गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नवकलाकार प्रमोद पौडेल फिर्चड छन् । प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन् ।

लोकभाकामा बनेको गीतको भिडियोमा दुई जोडी (रुविना–लोमश र जुना–प्रमोद)को प्रेम देखाइएको छ ।

भिडियोमा रमणीय दृश्यहरु कैद गरिएको छ । यी दृश्यहरु सैलुङको हो । रोचकको कुरा के हो भने सैलुङमा खिचिएको यो पहिलो म्युजिक भिडियो हो । यसअघि कसैले पनि सैलुङको सुन्दरतालाई क्यामरामा कैद गरेका थिएनन् जुन यस भिडियोमार्फत लोमशले गरेका छन् ।

भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ । नेपालमा हत्तपत्त एरी क्यामराको प्रयोग गरिँदैन् । नेपालमा एरी क्यामराबाट खिचेको पनि यो पहिलो भिडियो हो ।

गीतमा शब्द र संगीत प्रल्हाद सुवेदीले भरेका छन् । विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन् । यो गीतलाई पनि दर्शकले मन पराउने र पहिलाका गीतहरुलाई झैँ दर्शकले साथ र माया दिनेमा शर्मा विश्वस्त छन् । भिडियोको बजेट १० लाख रहेको शर्माको भनाइ छ ।

कविराज गहतराजले कोरीयोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ । अग्नी थापा र दिपेन्द्र पण्डितले मिलेर निर्माण गरेको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट