दशैंका लागि अग्रिम टिकट बुकिङ १२ असोजदेखि

रंग नेपाल २०८१ असोज ६ मा प्रकाशित

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच शनिबार भएको बैठकले घटस्थापनाभन्दा एक हप्ताअघि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ । बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ ।

बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट