फिल्म ‘आँखा’को टिजर रिलिज

रंग नेपाल २०८१ भदौ ६ मा प्रकाशित

काठमाडौं । आगामी असोज ११ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘आँखा’को टिजर सार्वजनिक भएको छ ।

बिहीबार ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।

सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जौन योञ्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिस गरेका छन् । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट प्रष्टिन्छ ।

पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दोलनको झझल्को ‘आँखा’ टिजरले दिन्छ ।

लेखक तथा निर्देशक योञ्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले उठाइरहेको सुकुम्बासी व्यवस्थापनको मुद्दा र त्यसमा उत्पन्न भइरहेको परिस्थितिलाई कथावस्तु बनाएको भान हुन्छ ।

फिल्मको प्रमुख अभिनयमा रहेका प्रायः कलाकारहरूलाई टिजरमा स्थान दिइएको छ । फिल्ममा कलाकारहरू स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट