फिल्म ‘आँखा’को प्रदर्शन मिति तय

रंग नेपाल २०८१ भदौ २ मा प्रकाशित

काठमाडौं । सामाजिक विषयवस्तुमा तयार फिल्म ‘आँखा’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनि लामा सिनेमाजले शनिबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तय गरेको हो । यो मितिमा अन्य कुनै पनि नेपाली फिल्मले मिति तोकेका छैनन् । यो फिल्मले असोज ११ मा सोलो रिलिजको अवसर पाउनेछ ।

फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन् । सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभूमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सरसमानसहितका झोला लिएर निस्केको देखाउँदा उनीहरूले वस्ती छोडेर बाहिरिँदै गरेको आँकलन गर्न सकिन्छ । निर्देशक जौन योञ्जनले पोस्टरमार्फत फिल्मले उठाएको कथावस्तु खुलाउन खोजेको भान पोस्टरले दिन्छ ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । यो फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनय छ । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको जम्बो टिम रहेको फिल्मलाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ । निर्देशक योञ्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योञ्जन नै छन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर हुन् । सहनिर्मातामा रेनुका कार्की ढोली छिन् ।

फिल्ममा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ ।

निर्देशक योञ्जनले ‘आँखा’ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोकेको बताए ।

योञ्जन यो फिल्मपछि ‘रोल नम्बर १’ नामको अर्को फिल्मको तयारीमा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट