काठमाडौं । यही साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्मकी नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ ।
राजु गिरी निर्देशित फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरीलगायतको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।