काठमाडौं । हास्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनीहरुले दर्शकसामु माफी मागेका हुन् । आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै माफी मागेका हुन् ।
एक कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका उनीहरुले भिडिओ सन्देश जारी गर्दै अदालतमा विचाराधीन मुद्दामा बोलेर गम्भीर गल्ती गरेको उल्लेख गरेका छन् । ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो । अचानक आएको प्रस्तावमा बोल्दा हामीबाट त्रुटी भएको छ । नबोलेको भए पनि हुने थियो ।’ श्रेष्ठले भनेका छन् ।
‘अदालतमा विचाराधीन मुद्दा मा नबोलेको भए पनि हुने थियो । बोलेर गल्ती गरियो, यति धेरै वर्ष माया गरिदिनु भयो । अब पनि सबै कुरा बिर्सेर हामीलाई माया गरिदिनु होला ।’ आचार्यले भनेका छन् ।
केहीदिनअगाडि नागरिकता किर्ते मुद्दामा पक्राउ गरेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको पक्षमा उहाँहरुले अभिव्यक्ति दिएका थिए । अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि महजोडीले माफी मागेका हुन् ।