‘गली ब्वाय’को कथाप्रति र्‍यापर नेजीको आपत्ति

रंग नेपाल २०८० फागुन २४ मा प्रकाशित

मुम्बई । बलिउड निर्देशक जोया अख्तरको निर्देशन र रणवीर सिंह तथा आलिया भट्टका अभिनय रहेको फिल्म ‘गली ब्वाय’लाई सफल फिल्म मानिन्छ । फिल्मले बक्सअफिसमा कैयौं रेकर्ड बनाएको छ । यसबाहेक फिल्मले अवार्ड पनि उत्तिकै पोल्टामा पारेको छ ।

यो फिल्मलाई ‘ओस्कार अवार्ड’का लागि ‘बेस्ट इन्टरनेशनल फिचर फिल्म’ विधामा मनोनयनका लागि समेत पठाइएको थियो । फिल्मको कथा एक र्‍यापरको संघर्ष वरपर घुम्छ । फिल्ममा रणवीर सिंहले वास्तविक र्‍यापर नेजीको भूमिकामा अभिनय गरेका छन् । उनले र्‍यापमार्फत आफ्नो जीवनमा परिवर्तन ल्याएको कथा फिल्ममा देखाइएको छ ।

वास्तविक नाम नावेद शेख रहेका र्‍यापरले हालैमात्र भीएच १ सुपरसोनिक म्युजिक फेस्टिभलमा आफ्नो प्रस्तुति दिएका थिए । यही समयमा उनले फिल्म ‘गली ब्वाइ’मा आफ्नो जीवनलाई लिएर केही गलत कुरा देखाइएको गुनासो गरेका थिए । उनले दर्शकले त्यो गलत कुराको विश्वास नगर्न र आफू चाँडै नै सत्य कथाका साथ दर्शकमाझ आउने जानकारी दिएका छन् ।

‘गली ब्वाईमा मेरो आमाबाबु भनेर जसलाई देखाइएको थियो, त्यो चरित्रमा फिक्सनाइज गरिएको थियो । फिल्ममा जुन मेरो कथा भनिएको छ, त्यो गलत कथा हो । जस्तो कि मेरो पिताको दुई विवाह हुन्छ, गली ब्वाई दुई सम्बन्धमा बस्छन् । फिल्ममा देखाइएको यी कुरा वास्तविक होइनन् । मेरो आमाबाबु एकमात्र हुनुहुन्छ । मैले कहिल्यै पनि दुईवटा सम्बन्ध बनाइनँ । फिल्ममा आइप्याडमा गीत बनाइएको देखाइएको छ । मुसलमान परिवारमा यो सबै सत्य हुन् । बाँकी सबै गलत हुन् । सबै कुरालाई फिक्सनाइज गरिएको छ । म दर्शकलाई यही भन्न चाहन्छु कि त्यसमा विश्वास नगर्नुहोला । म सत्य कथाका साथ आउनेछु र दर्शकलाई वास्तविक कथा के थियो भन्ने बताउनेछु,’ उनले भनेका छन् ।

उनले ‘गली ब्वाई’ले आफ्नो जीवनमा सकारात्मक र नकारात्मक दुवै परिवर्तन ल्याएको बताएका छन् । ‘मनोवैज्ञानिक रुपमा मलाई धेरै नोक्सान भयो, किनकी मेरो व्यक्तिगत कथालाई गलत देखाइयो । तर, हो व्यापारिक कुरामा मलाई बढी फाइदा भयो । त्यसको माध्यमबाट मैले पहिचान पाएँ । यद्यपि मलाई कुनै पहिचानको आवश्यकता थिएन र मलाई बलिउडको मोह पनि थिएन । हरेक मिडियामा मेरो नाम आयो । कैयौं मानिसले म ठूलो कलाकार हो भन्ने थाहा पाए । जोया अख्तरले धेरै दिमाग खेलाएकी छन् । कतिपयले करिअरको सुरुवातमै तिमीमाथि फिल्म बन्नु कति राम्रो कुरा भन्दै बधाई दिए । मानिसहरुले दिएको सम्मान मात्र मैले लिएँ, अपमान लिइनँ,’ उनले भनेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट