काठमाडौं । निर्देशक मिलन चाम्स निर्देशित ऐतिहासिक अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा चलचित्र गोर्खा वारियरको दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । यो ट्रेलरलाई पनि ओएसआर डिजिटलबाटै रिलिज गरिएको हो ।
चलचित्रको यो दोस्रो ट्रेलर त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको संघर्षमा केन्द्रित छ । यो चलचित्रको पहिलो ट्रेलर बेलायती गोर्खा सैनिकले सन १९४९ मा मलायको इमरजेन्सी जंगल युद्धमा गरेको लडाईको सेरोफेरोमा थियो । यो दोश्रो ट्रेलरमा मलायको युद्धसँगै ती सैनिकहरुको जीवनशैली, उनीहरुको परिवारसँग सम्बन्ध र परिवारको त्यागको कथालाई पनि प्रस्तुत गरिएको छ ।
आफ्नो छोरा तथा श्रीमानलाई सैनिक बनाउन र युद्धमा पठाउनको परिवारले गर्नु परेका सम्झौतालाई ट्रेलरमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । परिवारसँगैको बिछोड त्यतिबेला विदेशमा रहेका सैनिकको खबर पाउन उसका परिवारले एउटा चिठ्ठीको लागि महिनौ कुर्नु पर्ने बाध्यातालाई पनि ट्रेलरमा मर्मस्पर्शी रुपमा समेटिएको छ । यसपटक ट्रेलरमा बेलायती गोर्खा सैनिकको साहसिक युद्धसँगै उनीहरुका परिवारको त्याग समर्पण र विछोडको पीडालाई पनि ससक्त रुपमा उतारिएको छ ।
यो चलचित्रको ५ फागुन शनिबार धरानमा सम्पन्न ऐतिहासिक रेड कार्पेट प्रिमियरमा अतिथि तथा दर्शकबाट पाएको सकरात्मक प्रतिक्रियाबाट आफु निकै उत्साहित भएको निर्देशक मिलन चाम्सको कथन छ ।
यस्तै बेलायतको लण्डनस्थित सिनेवल्र्डमा गरिएको पहिलो ऐतिहाँसिक अन्तराष्ट्रिय रेडकार्पेट प्रिमियर र बेलायतका प्रधानमन्त्री ऋषी सुनाकले लेख्नु भएको शुभकामना सन्देशले आफूलाई थप उत्साहित बनाएको पनि निर्देशक चाम्सले बताएका छन् । सिनेमाका पात्रहरुको बलिदान, सहनसिलता तथा त्यागलाई समेटेर यो दोश्रो ट्रेलर सार्वजनिक गरिएको पनि निर्देशक चाम्सले जनाएका छन् ।
नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको यो चलचित्रको प्रजातन्त्र दिवसको अबसरमा आज ७ फागुन साँझ पोखरामा प्रिमियर हुँदैछ । यस्तै ९ फागुनमा काठमाडौंमा रेड कार्पेट प्रिमियर हुँदैछ ।
गोर्खा वारियरमा नव अभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।