काठमाडौ । रंगकर्मी नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ यहि माघ २७ गतेदेखि मञ्चन सुरु भएको छ । कालिकास्थान स्थित सर्वनाम थिएटरमा प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिकाे एउटा कथा समेटेर नाटक तयार पारिएको छ ।
बिदेशमा नेपालीले गरेका दु:ख, त्याग र समर्पणलाई समेत नाटकमा प्रस्तुत गरेको रंगकर्मी नरेन भट्टराईले बताए । ‘म नाटकमा धेरै वर्षदेखी काम गर्दै आएको छु । शुरुमा मैले प्रेमी प्रेमिकाको संवाद तयार पारेको थिए । वर्तमान परिस्थितीलाई समेटेर नाटक बनाएको छु । मलाई पूर्ण विश्वास छ यो नाटक सम्पूर्ण दर्शकबिन्दहरुले मन पराउनुहुनेछ ।’ उनले भने ।
नाटकमा परिस्थितिले परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथालाई समेटिएको छ । कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा फर्कनेहरूको आसमा बसेका पर्खनेहरूको पीडालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
नाटकका निर्देशक कृष्ण खड्काले भने,’परिवार,प्रेम र देश तीन फूल उनेर द डिपाचर नामको माला उनेको छौ, यो हाम्रो समयको,हाम्रो समाजको, हाम्रो राष्ट्रको कथा हो भने हामिले नै भन्नुपर्छ भन्ने लागेर हामी कथा लिएर उपस्थित छौ, हेरेपछि तपाईहरुको प्रतिकृया सुन्न उत्साहित छु/छौ ।’
‘द डिपाचर’ मा नरेन भट्टराई , शोभा कार्की , मुकेश हमाल, धिरज थापामगर , स्वस्थानी राउत, सुरज पराजुली , विध्यक तिलकको अभिनय रहेको छ । लाइभ म्युजिकमा बिमल लामिछाने,सागर भुसाल,लक्ष्मी पौडेल र रोशन फुयाँल रहेका छन । माघ २७ गतेदेखि मञ्चन भएको नाटक फागुन ५ गते सम्म हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।