रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग देखिएको हो । उक्त स्थानमा मंगलबार बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लागेको स्थानीय वीरेन्द्र यादवले बताए ।
पछिल्लो तीनदिनदेखि उक्त स्थान नहरको छेउमा नाग देखिने गरेको उनले बताए । नहर छेउको खेतको दुलोबाट बिहान १० बजे निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्नेगरेको गाउँलेहरुले बताएका छन् । नाग देवता भनिएको उक्त सर्प जस्तै केही समय अघि कटहरियामा पनि देखिएको थियो । उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो ।
यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिकाअन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो ।
स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए । शिलान्यासको केही दिनपछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन ।