‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक, फागुन ११ गतेबाट हलमा

रंग नेपाल २०८० माघ ११ मा प्रकाशित

काठमाडौं । सन् १९४९ का बेला मलाया युद्धको क्रममा नेपालीहरुले लडेको कथालाई प्रस्तुत गरिएको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ ।

राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच २ मिनेट २२ सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म आगामी फागुन ११ गतेबाट नेपालमा रिलिज हुँदैछ ।

ट्रेलरमा तत्कालिन समयमा मलाया युद्धको पृष्ठभूमि र सो युद्धमा गोर्खाली सैनिकहरुले गरेको संघर्षलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार रितेश चाम्स, विजय लामा, कविता आले, रेविका गुरुङलगायतका कलाकार फिचर्ड छन् ।

ट्रेलरमा सन् १९४९ को समयको नेपालको ग्रामीण परिवेश, त्यसबेलाको प्रेम र गोर्खा भर्तीमा जाने परम्परालाई देखाइएको छ । फिल्मका लेखक तथा निर्देशक मिलन चाम्सले आफूले ‘गोर्खा वारियर’ बनाउन तीनवर्ष अध्ययन गरेको बताए ।

‘म आफू पनि पूर्वगोर्खा सैनिक भएकाले गोर्खा सैनिकलाई नजिकबाट चिनेको र बुझेको छु’, मिलनले भने, ‘मैंले आफूले भोगेको र देखेको सँगै अध्ययन तथा अनुसन्धानबाट प्राप्त नयाँ तथ्यलाई फिल्ममा प्रस्तुत गरेको छु ।’

फिल्म नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र कोरियन भाषामा रिलिज हुँदैछ । फिल्मको हाल हिन्दी संस्करणका लागि मुम्बईमा स्वरांकनको काम भइरहेको छ । हिन्दी भर्सनमा फिल्मका मुख्य कलाकार रितेशको हिन्दी स्वरांकनको काम दक्षिण भारतीय फिल्म ‘केजीएफ’का लागि अभिनेता यशको हिन्दी संस्करणको स्वरांकन गरिसकेका डबिङ आर्टिस्ट सचिन गोलेले गरिरहेका छन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सारा राई, शिशिर वाङ्देल, रियर राई, सुरज तमु, विरुप घले, सरोज खालिङ, सुमिन गुरुङलगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मले गत दशैं अघि बेलायतमा रेडकार्पेट प्रिमियर गरेको थियो । यो फिल्म ‘ब्रिटिस एकेडेमी अफ फिल्मसे एण्ड टेलिभिजन आर्टस्(बाफ्टा)’को प्रारम्भिक मनोनयनमा मनोनित भइसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट