काठमाडौं । नाट्य अभिनयसँगै फिल्मी अभिनयमा पाइला चालेका अभिनेता सौगात मल्ल ब्लकब्लस्टर फिल्म ‘लुट’बाट ‘हाकु काले’का रुपमा चिनिए । सौगातले अभिनय गरेका धेरै फिल्म असफल छन् । फिल्म असफल भए पनि अभिनयका मामलामा उनी सफल मानिन्छन् । किनकी हरेक फिल्ममा कथाको माग अनुसार आफूलाई फरक रुपमा प्रस्तुत गरेर अभिनयको ‘वाहवाही’ पाइ नै रहेका छन् ।
यिनै सौगात यही माघ २६ गतेबाट रिलिज हुने फिल्म ‘हात्तीछाप’मा ‘बोत्तल राजा’ चरित्रमा देखिँदैछन् । फिल्मको टिजर होस् वा ट्रेलरमा उनले आफ्नो चरित्रलाई स्थापित गरेका छन् ।
सौगात ‘हात्तीछाप’बाट उत्साहित छन् । सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्मका लागि उनले केही संवाद आफैले पनि थपेका रहेछन् ।
निर्देशक सुनुवारसँग काम गर्न सहज भएकाले पनि आफूले संवाद थपेको खुलाए । ‘उहाँसँग काम गर्न निकै सजिलो भयो । उहाँलाई यसरी काम गरौं न भन्दा उहाँले अस्वीकार गर्नुभएन । किनकी फिल्ममा निर्देशकभन्दा फरक रुपमा काम गर्दा कहिलेकाही कामको वातावरण पनि बिग्रन्छ’, उनले भने, ‘त्यसकारण पनि हात्तीछापमा मैले केही संवादहरु आफैं थपें । निकै रमाइलोसँग काम गर्न पाइयो ।’
किरण नेपालीको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा सौगातसँगै उपासना सिंह ठकुरी, बेनिशा हमाल, दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ ।