‘केपी ओली कप, २०८०’ आगामी फागुन दोस्रो साता

रंग नेपाल २०८० माघ ३ मा प्रकाशित

काठमाडौं, ३ माघ । राष्ट्रिय युवा संघ नेपालले आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म ‘केपी ओली कप २०८०’ को आयोजना गर्ने भएको छ ।

आज संघले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता अखिल नेपाल फुटबल संघ ९एन्फा० प्राविधिक केन्द्र, च्यासलमा हुने जानकारी दिएको छ । फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

संघका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री महेश बस्नेतले युवा संघ रचनात्मक क्रियाकलापमा सक्रिय रहेको र यस्ता गतिविधिले खेल क्षेत्रको विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्नेमा बताए ।

खेलमा नेपालको ए डिभिजन तथा विदेशी टिमलाई समेत सहभागी गराइनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ११ लाख, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई जनही रु ५० हजार र प्लेयर अफ द म्याचलाई रु १५ हजार प्रदान गरिने छ ।

गत वर्षको संस्करणमा एन्फाद्वारा सूचीकृत नेपालका आठवटा ‘ए डिभिजन’ टिममा स्वदेश तथा विदेशमा खेलाडीको सहभागिता थियो । प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजेता र सातदोबाटो क्लब उपविजेता भएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट