मुम्बई (एजेन्सी) । बलिउड अभिनेता पंकज त्रिपाठीको जन्म भारतको बिहारस्थित गोपालगञ्ज जिल्लाको बेलसण्ड गाउँमा भएको हो । उनले बाल्यकाल गाउँमै बिताए । उनले हालै एक अन्तरवार्तामा आफ्ना युवावस्थाका तीन रोचक किस्सा सुनाएका छन् ।
युवतीलाई आकर्षित गर्न साइकल स्टण्ट
पंकज सानैदेखि साइकलको सौखिन थिए । यहीकारण उनी युवतीलाई आफूतिर आकर्षित गर्न साइकलको स्टण्ट गर्थे । ‘कक्षा ७ वा ८ मा पढ्दाको कुरा हो । गाउँमा एक युवा थिए, जो साइकलमा स्टण्ट गर्थे । उ स्कुलमा हुने स्लो रेसको विजेता पनि थियो । उ युवतीबिच निकै लोकप्रिय थियो । त्यही देखेर मैंले पनि साइकलको स्टण्ट गर्न सिकें । म साइकलको स्टण्ट सिकेर आगामी वर्षको विजेता बन्न चाहन्थें । तर त्यसो हुन सकेन’, उनले भनेका छन् ।
पौडी सिक्न किरा सेवन
उनको पौडीवाला किस्सा झन रोचक छ । उनका अनुसार पंकजको घर पछाडि एउटा नदी थियो, जहाँ उनी पौडी सिक्न चाहन्थे । ‘मेरो गाउँका बालबालिकाहरु निकै बद्मास थिए । तीमध्ये एक बालकले मलाई नदीमा बग्ने कालो किरा खान सकेमा आफूलाई पौडिन आउने सल्लाह दियो । मैंले त्यसै गरें । मंैले झण्डै १० देखि १२ वटा किरा खाएँ । धन्न मेरो पेट खराब भएन । कीरा खाएपनि मैंले पौडिन जानिन्, पंकज सम्झन्छन् ।
थर परिवर्तन
उनको वास्तविक नाम पंकज तिवारी थियो । उनका गाउँमा धेरै तिवारी वा पुजारी वा किसान थिए । उनको एक काकाको थर त्रिपाठी थियो, जो सरकारी जागिरे थिए । अर्का एक बाबा थिए, जसको थर पनि त्रिपाठी थियो । ती बाबा हिन्दीका प्रोफेसर थिए । ‘जब म १० कक्षाको एडमिट कार्ड भर्दै थिएँ, त्यो बेला मैंले पनि आफ्नो नामको पछाडि त्रिपाठी थपें । किनकी मलाई पुजारी या किसान बन्नु थिएन । त्यसपछि मैंले आफ्नो र पछि पिताको थर पनि फेरिदिएँ’, पंकज भन्छन् ।
पंकज आगामी फिल्म ‘में अटल हुँ’मा देखिँदैछन् । यो फिल्म यही जनवरी १९ मा रिलिज हुँदैछ । फिल्ममा उनी भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिँदैछन् । (स्रोत : दैनिक भाष्कर)