एजेन्सी । बलिउडलाई फिल्म नगरीको साथमा प्रेम नगरी भन्दा पनि फरक पर्दैन । बलिउड अभिनेता अभिनेत्रीहरूको प्रेम सम्बन्धको चर्चा अन्य फिल्म नगरीमा भन्दा बढी नै हुने गरेकाले बलिउड नगरीलाई प्रेम नगरी पनि भनिएको हो ।
उनीहरूबीचको प्रेम सम्बन्ध, विछोड नोकझोक आदिको खबर हरेक दिनजसो सञ्चार माध्यममा छाइरहने गर्दछ । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको जोडी पनि एक हो, जसको प्रेम सम्बन्धको चर्चा बिना बलिउडको प्रेम कहानी अधुरो हुन्छ ।
दुई महिनाअघि नै एक अर्कासँग छुट्टिएको भनिएका मलाइका र अर्जुनको जोडी फेरि सँगै देखिएपछि उनीहरूको ब्रेकअपको खबर झुटो सावित भएको छ ।
मंगलबार बलिउड निर्देशक तथा लेखक फराह खानको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा साझा भएको एक भिडियोले मलाइका र अर्जुन एक अर्कासँगै छन् भन्ने पुष्टि गरेको भारतीय सञ्चार माध्मयले जनाएका छन् ।
फराहको जन्मदिनको अवसरमा उनको साथी एवम रियालिटी शो झलक दिखलाजाकी सह निर्णायक मलाइकाले सरप्राइजस्वरूप आफ्नो घरबाट खाना मगाएकी थिइन् । तर, झलख दिलाजाको सुटिङका कारण आफू व्यस्त भएपछि उनले सो कामको जिम्मेवारी अर्जुनलाई दिइन् ।
निर्देशक फराह खानले सामाजिक सञ्जालमा एक भिडियो साझा गर्दै सो खाना मलाइका नभई अर्जुनको घरबाट आएको बताएको समाचारमा उल्लेख छ ।
मलाइकाले अर्जुनलाई फोन गरेर अर्जुनको घरबाट खाना मगाएकी हुन् । फराहाले ‘मेरो प्रि बर्थडे सेलिब्रेसनको लागि धन्यवाद अर्जुन’ भन्दै सामाजिक सञ्जालमा सो भिडियो सार्वजनिक गरेकी छन् ।
केही दिनअघि मलाइकाले एक्लै क्रिसमस मनाएकी थिइन् भने अर्जुन आफ्नी बहिनीका साथ लन्डन घुमघाममा थिए । सोही कारण सञ्चार माध्यमले उनीहरूबीच ब्रेक अप भएको गसिप लेखिरहेका थिए ।
मलाइकाले सन् १९९८ मा पहिलो विवाह अभिनेता अरबाज खानका साथ गरेकी थिइन् । सन् २०१७ मा अरबाजका साथ १९ वर्षे वैवाहिक सम्बन्ध टुटेपछि उनको अभिनेता अर्जुनका साथ प्रेमसम्बन्धको चर्चा शुरु भएको थियो ।