धरान उत्सव सुरु

रंग नेपाल २०८० पुष २० मा प्रकाशित

धरान । आधुनिक धरानको स्थापना भएको एक सय २३ वर्ष पुगेको अवसरमा आजदेखि धरान उत्सव सुरु भएको छ । पुस २४ सम्म सञ्चालन हुने उत्सवको धरानकी ज्येष्ठ नागरिक एक सय तीन वर्षीया चन्द्रमाया कटुवालले पानसमा बत्ती बालेर उद्घाटन गरिन् ।

धरान उपमहानगर पालिकाको आयोजनामा सुरु भएको उत्सवमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धरान कला र सांस्कृतिक विविधतामा अगाडि रहेको बताए ।

धरान उपमहानगरका प्रमुख हर्कराज राईले काठमाडौं महानगरमा वृक्षरोपण, खोलानाला संरक्षणजस्ता महत्त्वपूर्ण काम भइरहेको उल्लेख गर्दै यसले महानगरका भावी पुस्तालाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

नगरप्रमुख राईले संघीय र प्रदेश सरकारले स्थानीय तहलाई विकास कार्यमा सहयोग पुर्‍याउनुपर्ने बताए । उनले धरानको विकासमा निरन्तर नगरवासीको सहयोग पाउने आशा व्यक्त गरे ।

धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले धरान सांस्कृतिक विविधता, धार्मिक विविधता भएको सहरका रुपमा रहेको र सँधै सबै मिलेर, एकअर्कालाई सम्मान गरेर बस्ने बताए ।

उत्सवमा किरात याक्थुम चुम्लुङ सुनसरीका अध्यक्ष सुवासचन्द्र हुक्पाचोङ्वाङ लगायतले शुभकामना व्यक्त गरे । उत्सवको अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठसहित एक दर्जनभन्दा बढीलाई सम्मान गरिएको थियो । उत्सवको अवसरमा विभिन्न संघ संस्थाले झाँकीसहित बजार परिक्रमा गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट