हेटौंडा । उत्तरी मकवानपुरको पर्यटन प्रवर्द्धन गर्नका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा फोटो प्रदर्शनी गरिने भएको छ ।
थाहा नगरपालिकाको आयोजना एवं हेटौंडा उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फोटो पत्रकार संघ मकवानपुरको सहयोग तथा फरक सोच अभियान र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी हुने भएको हो । हेटौंडाको बुद्ध चोकमा यहि पुस २० र २१ गते दुई दिने फोटो प्रदर्शनी गरिन लागिएको फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए ।
प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुँदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको रायमाझीको भनाइ छ ।
उनका अनुसार एक दर्जन फोटोग्राफरले खिचेका थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका करिब ६० वटा फोटोको प्रदर्शनी गरिने छ ।
पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले थाहा नगर लगायत आसपासको क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताए ।