५० दिनमा सकियो महाजात्राको छायांकन

रंग नेपाल २०८० पुष ८ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘जात्रा’ को तेस्रो सृँखला ‘महाजात्रा’को छायांकन काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको छ । एउटा गीतको छायांकन खुलामञ्चमा गर्दै यो फिल्मको बिहिबार बेलुका क्यापइन्ड गरिएको हो ।

महाजात्राको छायांकन कात्तिक १५ गते शुभमुहूर्त गर्दै बुढानिलकण्ठस्थित मह स्टुडियोबाट सुरु गरिएको थियो । आफ्नो चलचित्रको ५०औं दिनमा छायांकन सकाइएको निर्देशक प्रदीप भट्टराईले बताएका छन् ।

प्रदीप भट्टराईकै लेखन समेत रहेको महाजात्रामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर बाङ्देल, प्रवीण खतिवडा, सुमन कार्कीलगायतको अभिनय छ । यो फिल्म आगामी चैत ९ गतेदेखि प्रदर्शन गरिने भएको छ ।

फिल्ममा हरिवंश र विपिनले ३२ टेकसम्म लिएका छन् । यसको खुलासा निर्देशक भट्टराई स्वयंले गरेका हुन् । उनले भने, ‘उहाँहरु यति सहज हुनुहुन्छ कि ३०/३२ टेक खाँदा पनि कहिल्यै प्रश्न गर्नुभएन । राम्रो नहुँदासम्म टेक दिइरहनुहुन्थ्यो ।’ तैपनि ३०/३२ टेक लिएको प्रदीपले खुलासा गरे ।

‘जात्रा’को दुईवटा सिरिज पैसा र सुनको वरिपरि केन्द्रित भए । ‘महाजात्रा’मा सुन र पैसासँगै राष्ट्रिय मुद्दालाई पनि समेटिएको निर्देशक भट्टराईले बताएका छन् । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । षट्कोण आर्ट्सको प्रस्तुती रहेको फिल्मको छायांकन हुनु अगावै २ करोडमा ओभरसिज राइट्स बिक्री भइसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट