मलेखु । सयौं मानिसको भीड । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ । प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ ।सयौं मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् ।
भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ ।
यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको स्थानीय शिवप्रसाद सापकोटाले जानकारी दिए । रोचक कुरा बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले छुन भने नपाउने उनको भनाइ थियो ।
सापकोटाले भने, ‘पहिलेदेखिको चलन यही हो । भगवानलाई छुन र हेर्न पाइदैन । बाहिरबाटै दर्शन गर्ने फुलअक्षेता चडाउने हो ।’
देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको उनले बताए । वडादसैँको चतुर्थीका दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सारिएको हो ।
रानामगर, तिमिल्सिना र सापकोटा थरका पूजारीले त्रिपुरासुन्दरी भगवतीमाइको मूर्ति र सरसामानलाई आफ्नो पिठ्युँमा बोकेर यात्रा गराउन परम्परा रहेको सापकोटाले जानकारी दिए ।
वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने उनको भनाइ थियो ।
यी तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् ।
विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैंतिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको श्रेष्ठले जानकारी दिए ।
सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ ।
स्थानीय पूजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेँसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीको रुपमा चिनिन्छ । ‘सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ । यसलाई भगवतीको कर्मघरका रुपमा लिइन्छ’, उनले भने ।
‘पुजारीले मात्र छुन मिल्ने उक्त मूर्ति कस्तो आकारको छ वा बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । प्रत्येक वर्ष मेला हेर्न आउँछौँ । तर छुन/हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो । हामी यो परम्परा बदल्न सक्दैनौँ’, मेला हेर्न आएकी देवकी अधिकारीले भने ।
नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ ।
जिल्ला सदरमुकाम धादिङबेँसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् ।
मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका-४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्युँमा बोकेर करिब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका-६ माईथानबेँसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।