काठमाडौं । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औँ संस्करण बेलायतको एल्बम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शनसँगै समापन भएको छ ।
महोत्सवमा उत्कृष्ट फिचर डकुमेन्ट्रीतर्फको अवार्ड राजन कठेत र सुनील पाण्डेको ‘नो विन्टर होलिडेज’ ले जितेको छ । मङ्गलबार सम्पन्न महोत्सवमा उक्त डकुमेन्ट्रीले अवार्ड जितेको हो । महोत्सवमा उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालबाट सहयोगराज अधिकारी र एलएसएम ‘यात्रा’ ले पाएको छ ।
त्यस्तै उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेसनलतर्फको अवार्ड स्पेनका जुलेन जुबिटको ‘अ माउन्टेन अफ मेमरिज’ ले जितेको छ । उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’ बाट शुभाङ्गी खड्काले पाएकी छन् ।
उत्कृष्ट छोटो कथानक फिल्मतर्फको अवार्ड आकाङ्क्षा कार्कीको ‘सनाई’ले हात पारेको छ भने उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ ले पाएको छ ।
त्यस्तै जुरी मेन्सन अवार्ड बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन गरियो । महोत्सवमा विश्वभरबाट खुला आवेदनबाट सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्र देखाइएको थियो । महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए ।
महोत्सवमा ‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिकका अधिकार : अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबिच दुई वटा प्यानलमा छलफल पनि राखिएको थियो । त्यस्तै चार दिनसम्म महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि गरिएको थियो ।
महोत्सवका निर्देशक पाण्डव खत्रीले सामाजिक न्याय र मानव अधिकार प्रवर्धनका उद्देश्यले सुरु गरिएको महोत्सवको ११ औँ संस्करण आयोजना हुनु मुलुककै लागि गर्वको विषय भएको बताए । महोत्सवले नेपाली चलचित्र र चलचित्रकर्मीलाई ‘एक्सपोजर’ को अवसर मात्रै होइन, मानव अधिकारको विषयलाई थप सशक्त बनाउनसमेत भूमिका खेलेको उनको भनाइ थियो ।