मुम्बई । बलिउडका चर्चित कमेडियन जुनियर महमूदको निधन भएको छ ।
६७ वर्षको उमेरमा उनी क्यान्सरसँग लडिरहेका थिए । हालै मात्र उनले आफ्ना साथी जितेन्द्र र सचिन पिलगाउँकरलाई भेट्ने इच्छा व्यक्त गरेका उनको इच्छामा दुवै कलाकार उनलाई भेट्न आएका थिए ।
जुनियर महमूदको अवस्था देखेर जितेन्द्रका आँखा रसाए । जुनियर महमूदको जन्म सन् १९५६ मा भएको थियो । जुनियर मेहमूदका जेठा दाइ फिल्म सेटमा फोटोग्राफीमा काम गर्थे । जुनियर महमूद बाल्यकालदेखि नै फिल्म सेटमा जान्थे ।
जुनियर महमूदले ९ वर्षको उमेरमा चलचित्र ‘मोहब्बत जिंदगी है’ (१९६६) बाट बाल कलाकारको रूपमा आफ्नो अभिनय करिअर सुरु गरेका थिए । एक पटक महमूदले उनलाई छोरीको जन्मदिनको पार्टीमा निम्तो दिए । जहाँ नईमले मेहमूदको चर्चित गीत ‘हम काले हैं तो क्या हुआ…’ मा नृत्य गरे । नईमको डान्स र एक्सप्रेशन देखेर महमूद यति प्रभावित भए कि उनले नईमलाई ‘जुनियर महमूद’ उपाधि दिए ।
जुनियर महमूदले आफ्नो सिने करिअरमा २५० भन्दा बढी चलचित्रमा काम गरेका थिए । नौनिहाल, कारवां, हाथी मेरे साथी, मेरा नाम जोकर, सुहाग रात, ब्रह्मचारी, काटी पतंग, हरे रामा हरे कृष्ण, गीत गाता चल, इमानदार, बाप नंब्री बेटा दस नंब्री, आज का अर्जुन, गुरुदेवलगायत उनको करिअरका उल्लेखनीय फिल्म हुन् ।