काठमाडौं । मिसेस् हिमालयन नेपाल २०२३ को उपाधि अनुषा कार्कीले हात पारेकी छन् । ओखलढुङ्गाकी अनुषा कार्कीले ताज पहिरिन सफल भएकी हुन् ।
हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित आइतबार अपराह्न राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रमको दसौँ संस्करणको विजेता अनुषा बनेकी हुन् । नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा अनवरत सञ्चालित कार्यक्रममध्ये एक मिसेस् हिमालयन नेपाल विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता हो । कार्यक्रमको फस्ट रनर अपमा अनिषा घजु र सेकेन्ड रनर अपमा राज्यलक्ष्मी कर्माचार्यले आफ्नो स्थान सुरक्षित राख्न सफल भएका छन् ।
सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सञ्चालित सो कार्यक्रममा एक दर्जन प्रतियोगीहरूले दुई सातासम्म व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, बौद्धिक विकाश लगायतका विविध विषयमा तालिम लिई पारगत रूपमा आफूलाई स्टेजमा उतारेका थिए । स्टेजकी अभिनेत्री समेत रहेकी कोरीयोग्राफर सुब्बाले प्रतियोगीहरूलाई ‘मलाइ आँखैको परेलीमा’ बोलको गीतमा सुन्दर नृत्य गराएकी थिइन् ।
परिचय चरण, प्रश्नोत्तर चरण, लिखित चरण र क्राउनिङ चरणहरूमा सम्पूर्ण प्रतियोगीहरूले आफूलाई प्रमाणित गर्ने कोसिस गरेका थिए । अभिनेता तथा चलचित्रकर्मी सीमान्त उदास, अभिनेत्री मोडल सुषमा अधिकारी, मोडल तथा मिस्टर ह्यान्डसम नेपाल अभिषेक खड्का, मिसेस् मङ्गोल नेपाल २०२३ सरिता गुरुङ निर्णायक मण्डल रहेको सो कार्यक्रममा कलाकारहरूले चित्ताकर्षक नृत्य प्रस्तुत गरेका थिए ।