चलचित्र प्रदर्शक र निर्माताबीच सहमति

रंग नेपाल २०८० मंसिर ८ मा प्रकाशित

काठमाडौं । नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँटको विषयमा सहमति भएको छ । चलचित्र प्रदर्शन भएपछि निर्माताहरूले पाउने सेयरको अंशमा सन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको चलचित्र नचलाउने अडानपछि भएको वार्तामा सहमति जुटेको हो ।

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार चलचित्र ‘दिमाग खराब’ प्रदर्शन भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागु गर्न दुवै पक्ष सहमत भएको निर्माता रौनकविक्रम कँडेलले बताए । सबै स्वदेशी चलचित्रले यो सुविधा पाउने उनको भनाइ छ । दुवै संघबीच ५० प्रतिशत सेयर बाँडफाँट सहमति भएको छ ।

यसअघि सोही विषयलाई लिएर चलचित्र संघमा दुई दिनसम्म वार्ता चलेको थियो । दुई दिन चलेको वार्तापछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेको थियो । सेयर बाँडफाँट मात्र नभएर अन्य महत्वपूर्ण मुद्दामा समेत सहमति भएको निर्माता कँडेलले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट