काठमाडौं । प्रदर्शनरत नेपाली चलचित्र दिमाग खराब आगामी मंगलबारसम्म प्रदर्शन हुने भएको छ ।
यसअघि हलहरूले नेपाली चलचित्रलाई गिराउने काम गरेको भन्दै दुई बुँदे माग राख्दै चलचित्र निर्माता टीमले फिल्म हलबाट निकाल्ने बताएको थियो ।
विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले प्रदर्शनी रोक्ने घोषणा गरिसकेका थिए । बिहीबार नेपाल चलचित्र संघ र ‘दिमाग खराब’को निर्माताहरूबीच सकारात्मक छलफल भएपछि फिल्म मंगलबारसम्म प्रदर्शन गर्ने निर्णय भएको हो ।
बाँकी विषयमा आउँदो मंगलबार पुन: छलफल गर्ने र त्यतिञ्जेल चलचित्र पनि प्रदर्शन जारी राख्ने निर्णय भएको हो ।