नगरकोट सडक महोत्सव सुरु

रंग नेपाल २०८० कार्तिक २३ मा प्रकाशित

भक्तपुर । गोरखा भूकम्प र कोरोना महामारीले थला परेको नगरकोटको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले आजदेखि तीनदिने सडक महोत्सव सुरु भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले आयोजना गरेको महोत्सवको आज मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाले उद्घाटन गरे ।

विश्वकै आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक मानिने भक्तपुर र काभ्रेको नगरकोट आफैँमा विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भए पनि पर्यटकको आगमन वृद्धि गर्न यस प्रकारको महोत्सव सहयोगी हुने नगर प्रमुख वाइबाले बताए । स्थानीय सरकारले यो क्षेत्रको पर्यटकीय विकासका लागि संयुक्त अवधारणा एवं कार्यक्रम अघि सारेको बताउँदै उनले प्रदेश र केन्द्रीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम ल्याउनुपर्ने औँल्याए ।

समितिका अध्यक्ष नवीन गुरुङले नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन एवं पर्यटकको आगमनलाई वृद्धि गराउने मुख्य उद्देश्य तथा रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गरेको बताए । महोत्सवको अवसरमा नगरकोट रात बस्ने गरी जाने पर्यटकलाई यहाँका ठूला तथा साना होटलले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउँदै अध्यक्ष गुरुङले केही होटलले आन्तरिकरूपमा त्यसभन्दा बढी पनि छुट दिनसक्ने बताए ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकासका लागि यो सँग सिमाना जोडिएको भक्तपुरको चाँगुनारायण, काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा काठमाडौंको शङ्करापुर नगरपालिकाले एकीकृत पर्यटकीय विकासको अवधारणा ल्याएर काम गरिरहेको बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट