पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचार गराइरहेका कलाकार प्रकाश घिमिरेलाई आइसियुबाट न्युरो वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा राम्रो सुधार भएका कारण उहाँलाई वार्डमा सारिएको हो । वार्डमा सारिएका उनले भेट्न पुग्नेसँग खुलेर दोहोरो कुराकानी गर्न थालेका छन् ।
अस्पतालमा भेट्न पुगेकासँग उनले चलचित्र र नाटकबारे चिन्ता गर्ने गरेको जनाइएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि अभिनेता घिमिरेको स्वास्थ्यमा सुधार आएको बताएका छन् ।
महानगरपालिका प्रमुखसँगको कुराकानीमा पनि उनले पोखरामा स्तरीय नाटकघर बनाउनुपर्ने चिन्ता जाहेर गरेको जनाइएको छ ।
उनी कात्तिक १० गते शुक्रबार पोखरा नदीपुरको भिरमा घाँस काट्ने क्रममा लडेर घाइते भई अचेत भएका थिए । त्यसपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा निरन्तर उपचार भइरहेको छ ।
उनको स्वास्थ्यमा क्रमिक रूपमा राम्रो सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।