काठमाडौं । पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा सडक महोत्सव हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको हो ।
महोत्सव कार्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन सञ्चालन हुनेछ । ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।
समितिका सचिव प्रदीप अधिकारीले नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
उनका अनुसार स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवं संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पुर्याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरूप सडक महोत्सवको आयोजना गरिएको हो । सडक महोत्सवमा २५ स्टल रहनेछन्।
महोत्सवमा साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकार, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष धनबहादुर लामाले बताए ।
महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिए ।