थाहामा फिल्म फेस्टिभल हुने

रंग नेपाल २०८० भदौ १० मा प्रकाशित

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा फिल्म फेस्टिभल हुने भएको छ ।

फेस्टिभल आउँदो मंसिर ९ देखि १५ गतेसम्म एक साता हुने आयोजक थाहा कला केन्द्रले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

थाहा नगरपालिकालाई नेपालको ‘मिनि फिल्म सिटी‘को रुपमा स्थापित गर्नको लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले बताए । थाहा कला केन्द्रको संयोजनमा हुने सो फेस्टिभलमा धार्मिक, साँस्कृतिक, ऐतिहासिक विषयवस्तु समेटिएका वृत्तचित्रदेखि पर्यटन प्रवद्र्धनका लागि तयार भएका चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगहरु प्रर्दशन हुने उनले बताए ।

२७ लाख रुपैया खर्च लाग्ने सो फेष्टिभलको उद्देश्य थाहानगरमा रहेका विभिन्न पर्यटकीय स्थलहरको प्रचारप्रसार गर्दै सो क्षेत्रमा पर्यटन उद्योगको विकास गर्नु भएको आयोजकले जनाएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, थाहानगरपालिका लगायत संघसंस्थाहरुको आर्थिक सहयोग रहेको छ ।

कार्यक्रमले थाहा नगरको पर्यटन तथा नेपाली फिल्म क्षेत्रलाई अघि बढाउन समेत सहयोग गर्ने थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानको भनाइ रहेको छ ।

फिल्म फेस्टिभल भरि चलचित्र निर्माता, निर्देशक, फिल्म प्राविधिकहरुलाई सो क्षेत्रको दृश्यावलोकन गराउँदै प्रचारप्रसारको थप सम्भाव्यता खोजिने आयोजकले जनाएको छ ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेका दामन, सिमभञ्ज्याङ, टिष्टुङ, पालुङ, इन्द्रसरोवर ताल, बज्रबाराही, चित्लाङ पर्यटकीय क्षेत्रका रुपमा परिचित छ ।

धेरै पढिएका

पछिल्ला अपडेट