काठमाडौं, २५ असार । अभिनेता पल शाहसँगको अन्तर्वार्तापछि हाँस्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री विवादमा तानिएका छन् । अहिले उनको चौतर्फी आलोचना भइरहेको छ ।
कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले अभिनेता शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए। शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए ।
बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो ।
‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् ।
त्यस्तै, हिम विष्ट लेख्छिन्, ‘सन्दीप क्षेत्री न हिजो सुध्रियो न आज । भोलि पनि यसरी नै गम्भीर विषयलाई उनले हँसिमजाक मै उडानेछन् । सुध्रिन पर्ने त उनी जस्ता असंवेदनशील पात्रहरूलाई ‘लाइमलाइट’ दिने संस्थाहरू हो ।
आलोचना बढेपछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ‘यो घटनालाई गम्भीर रूपमा लिएको र आवश्यक कारबाही गरिने बताएका छन् ।