काठमाडौं । अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ को नेपालमा प्रदर्शन गर्ने तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का सुनिने दन्त्यकथामै आधारित रहेर तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ । षट्कोण आर्टसका नेपाली निर्माताहरु रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीले यसलाई नेपाल प्रदर्शन गर्न लागेका हुन् ।
बौद्ध धर्मका ठूला गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले चलचित्रलाई निर्देशन गरेका हुन् । यो उनी निर्देशित पाँचौँ चलचित्र हो । ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायाङ्कन पनौती र पाटनमा भएको थियो ।
चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतले अभिनय गरेका छन् । बौद्ध धर्मबारे प्रवचन दिएर चर्चामा रहेका निर्देशक रिम्पोछेले सन् १९९९ मा पहिलो चलचित्र ‘द कप’ निर्देशन गरेका थिए । विश्वभरको प्रख्यात अवार्ड एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क ली पिङ बिङले चलचित्रलाई छायाङ्कन गरेका छन् ।
“गुरुको नेपाल आगमनलाई केन्द्रित गर्दै प्रदर्शन तय गरेका हौँ । यो चलचित्र निर्माण गर्न पाउनु हाम्रो लागि अवसर थियो”, निर्माता बानियाँले भने, “विश्व प्रख्यात निर्देशक र छायाकारसँग काम गर्दा धेरै तथ्य सिक्न पाएका छौँ । विश्वका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेको यस चलचित्रले नेपालको विविधतलाई पनि देखाउन सफल भएको छ ।”
उनले यो काठमाडौंमै सीमित चलचित्र भवनमा मात्र प्रदर्शन हुने जानकारी दिए । काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्र कथा बगेको छ ।