नेपाली फिल्म ‘हल्कारा’ ले गर्‍यो चिठी लेखन प्रतियोगिता घोषणा, प्रथम हुनेलाई ५० हजार

रंग नेपाल २०८० वैशाख १० मा प्रकाशित

काठमाडौं, १० वैशाख । नेपाली फिल्म ‘हल्कारा’ ले चिठी लेखन प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैं सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार तोकिएको छ । पत्र चलनचल्तिको सेतो कागजको ए४ साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ । पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ ।

अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा ५०० देखि १००० शब्दमा लेखिएको हुनुपर्नेछ । पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ ।

प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखि ठेगाना काठमाडौं, नेपाल, पोस्ट बक्स नम्बर १४१४ मा पठाउनु पर्नेछ । चिठीको अन्तिममा युट्युबमा रहेको फिल्म ‘हल्कारा’ को ट्रेलर हेरी आफूले बुझेको कथा लेख्नुपर्नेछ । चिठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ । विदेशबाट प्रेषित हुने चिठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ ।

यस प्रतियोगिताको निर्णायकहरूमा विप्लब प्रतिक (कवि तथा साहित्यकार), मनोजबाबु पन्त (फिल्मकर्मी) र महेश त्रिपाठी (अभिनेता) रहेका छन् ।

प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरूको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ । वैशाख १० देखि २० गतेसम्म पत्र पठाइसक्नु पर्नेछ ।  वैशाख २५ गते पुरस्कार घोषणा गरिनेछ ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी, बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ ।

यो फिल्म वैशाख २९ गतेदेखि प्रदर्शन हुँदैछ । ‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

यसैगरी फिल्म नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट