काठमाडौं । विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
उच्च अदालत पाटनले फिल्म प्रदर्शनको लागि बाटो खुला गरेपछि निर्माण पक्षले वैशाख १५ गर्ने प्रदर्शन गर्ने तयारी गरेको छ ।
गत साता निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो । तर सोमबारको सुनुवाइमा अदालतले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको हो ।
गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो ।
फिल्ममा विपिन र केकीसँगै फिल्ममा अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।