एजेन्सी । भारतीय अभिनेत्री अमिषा पटेलमाथि ठगीको आरोप लागेको छ ।
राँची सिभिल अदालतले अमिषा र उनको व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध चेक बाउन्स, धोखाधडी र धम्की गरेको आरोपमा उनीहरुमाथि वारेन्ट जारी गरेको हो । यसअघि अदालतले अमिषालाई समन पठाएको थियो तर, उनी अदालत उपस्थित नभएपछि अदालतले उनीविरुद्ध वारेन्ट जारी गरेको हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार मुद्दाको सुनुवाई भने अप्रिल १५ मा गरिने बताइएको छ ।
वास्तवमा, अजय कुमार सिंह नामका एक व्यक्तिले १७ नोभेम्बर २०१२८ मा अमिषा र कुणाल विरुद्ध मुद्दा दायर गरेका थिए।
अमिषा र कुणालले म्युजिक एल्बम र फिल्मको नाममा आफूसँग पैसा लिएको तर, फिल्म र एल्बम नबनाएको भन्दै अजयले मुद्दा दर्ता गराएका थिए । फिल्म ‘देसी म्याजिक’ का लागि अमिषाले २ करोड ५ लाख रुपैयाँ लिएको र फिल्म नबनेपिछ पनि पैसा फिर्ता नगरेको आरोप अजयले लगाएका छन् ।
दुईबीच भएको सम्झौता अनुसार २०१८ मा फिल्म देसी म्याजिक बन्न नसक्दा अजयले अमिषासँग पैसा मागेका थिए । लामो प्रतिक्षापछि अमिषाले अक्टोबर २०१८ मा दुईवटा चेक फिर्ता गरेकी थिइन्, जुन बाउन्स भएको थियो ।
अदालतले पटक पटक तारिख दिए पनि अमीषा र उनको वकिल अदालत पुगेका छैनन् ।