काठमाडौं । महाशिवरात्री विदाको अवसर पारेर फागुन ५ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘फूलबारी’को अग्रिम बुकिङ खुल्ला गरिएको छ ।
रामबाबु गुरुङ निर्देशित सिनेमाको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ । केहि हल भने शो खोल्ने तरखरमा छन् । काठमाडौंलक्षित मल्टिप्लेक्समा सिनेमाले ३५.२९ प्रतिशत शो पाएको छ । जुन औसत हो । बलिउडको ‘शेहजादा’ र हलिउड सिनेमा ‘एन्ट–म्यान एण्ड द वास्प? क्वान्टमेनिया’संगको प्रतिस्पर्धाका कारण मल्टिस्टारर ‘फूलबारी’ले उल्लेख्य शो पाउन सकेन । तर प्राप्त शो संख्या कमजोर भने होइन । सिनेमाले सकारात्मक प्रतिक्रिया पाएको खण्डमा महाशिवरात्री, प्रजातन्त्र दिवस र ग्याल्पो ल्होसारको विदामा शोज बढ्न सक्छ ।
फूलबारीले क्युएफएक्स चेनमा २९ शो पाएको छ । यस्तै अन्य चेन आइएनआइमा ९, वान सिनेमाजमा ८ र सिनेप्लेक्समा सिनेमाले ७ शो पाएको छ । बिग मुभिजमा ६ शो पाएको सिनेमालाई रन्जना सिनेप्लेक्सले ५ र बिएसआर मुभिजले २ शो दिएका छन् । यस्तै एफक्युब र किर्तिपुर सिनेप्लेक्समा सिनेमाले समान ३–३ शो पाएको छ ।
पारिवारिक कथामा निर्मित सिनेमामा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।