मङ्गलबारे । पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो ।
इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन संघका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गरे । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण मात्र हुँदै आएको थियो । उपचारका लागि इलाम बाहिर रेफर गर्नुपर्ने अवस्था थियो । पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकालाई सेक्ने प्रविधिमार्फत उपचार गरिने संघका प्राविधिक लाक्पा लामाले जानकारी दिए । मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन संघ इलाम शाखाले उपचार सुरु गरेको संघका प्रमुख कमल सुवेदीले जानकारी दिए ।
सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठले मेसिन आएपछि इलामबाट उपचारका लागि अन्यत्र जानुपर्ने समस्या समाधान भएको बताए । यसअघि उपचारका लागि जिल्ला बाहिर जाँदा यहाँका बिरामीले आर्थिक भार व्यहोर्दै आएका थिए । रासस