काठमाडौं । ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ ।
नेपाल कला परिषद् र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा आजदेखि सुरु भएको उक्त प्रदर्शनीको नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन् । कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाल कला क्षेत्रको धनी मुलुक भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौंलाई कलाको हवका रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताइन् । उनले नेपालको कला क्षेत्रको विकासका लागि काठमाडौं महानगरपालिकाले नेपाल कला परिषद्सँग मिलेर काम गर्न सुरु गरेको उल्लेख गरिन् ।
आगामी मंसिर २५ गतेसम्म चल्ने उक्त प्रदर्शनीको मुख्य उद्देश्य नेपालको हिन्दू धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषद्का अध्यक्ष सागरशमशेर जबराले जानकारी दिए । प्रदर्शनीमा १५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ ।
आजदेखि सुरु भएको प्रदर्शनीमा एक सय ६० कलाकारले बनाएका कलाकृति राखिएका छन् । ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकले लिएको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठीसमेत हुनेछन् ।