‘सकम्बरी’ गीतबाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन माग

रंग नेपाल २०८० वैशाख १३ मा प्रकाशित

काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतबाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन पारिजात स्मृति केन्द्रले माग गरेको छ ।

साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्रको नाम सकम्बरी र सुयोगबीर राखिएको प्रति संस्थाले आपत्ति जनाएको हो ।

केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै पारिजातद्वारा लिखित ‘शिरिषको फूल’की पात्र सकम्बरीसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु संयोगमात्रै नभएको उल्लेख गरिएको छ ।

गीत निर्माण गर्दा केन्द्रसँग अनुमति नलिइएको र प्रतिलिपि अधिकारको उल्लंघन भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै यस्तो सृजनाले अनाधिकृत छायांकन सुप्रशिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै पारिजातको छविलाई अमर्यादित पार्ने काम भएको स्मृति केन्द्रको ठहर छ ।

स्मृति केन्द्रले आफ्नो विज्ञप्तिमा गीतका सर्जक सपुतले क्षमायाचना गर्न तथा दृष्यहरु गीतमा सच्याउन माग गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट