‘म ज्युँदो बुबाको बिधवा आमाको कान्छो सन्तान’

रंग नेपाल २०७९ फागुन ५ मा प्रकाशित

सुर्खेत । सुरज पण्डित चर्चित गीत रेलको बाटोको गायक तथा सँगीतकार हुन् ।

२०६८ सालदेखि गायन क्षेत्रमा सक्रिय जुम्ला चन्दननाथ नगरपालिका ४ मालाभिडका पण्डितको माया गर्ने जीवनसाथी, ए मेरी टुल्की नलाइ बाडुल्की, तम्रा मनमालगायत २ दर्जन बढि गीत चर्चित छन् ।

जुम्ला हुँदै काठमाडौंसम्मको यात्रामा भोगेका दु:ख र गरेको संघर्षको कथा पण्डितले कर्णाली उत्सवको चौंथो संस्करण अन्तर्गत शुक्रबारको शत्रमा सुनाए ।

पैकेलो : गायक सुरज पण्डित

गायक बन्छु भन्ने सपना मेरो जीवनका लागि सायदै कल्पनाको विषय थियो । जुन घरबाट म यहाँ आइपुगेको छु, त्यो कर्णालीको भोगाइ हो । दुई आमा मध्ये जेठी आमाको म कान्छो छोरा हुँ । सानोमा बुबाले मेरी आमालाई म २ वर्षको हुँदा छुट्याएर राख्नुभएको भनेर मलाई आमाले भन्नुहुन्थ्यो । हामी बस्ने घरको आटीमा पानी चुहिन्थ्यो । आमाले चुहिनो छानो टालिरहनुभएको हुन्थ्यो । हामी बिहान उठ्दा आमाले गीत गाइरहेको हुनुहुन्थ्यो ।

कैयौँ रात मकैबारीमा भालुले मकै खान आउँदा आमा डरले तीनवटा बच्चालाई काखमा राखेर रोएको अझै याद छ । बुबालाई यो कुरा सुन्दा दु:ख त लाग्ला तर छोरालो वास्तविक कथा सुनाइरहेको छ, बुबा मलाई माफ गर्नुहोला । मेरो घरमा एक हप्तामा भात खाने पालो मेरो घरमा एकदिनमात्रै आउँथ्यो । खाद्य संस्थानले हप्तामा एकपटक बाँड्ने १० किलो चामल लिने हैसियत मेरो आमाको रहेनछ । हामीले मकै र जौको भित्री भागलाई चामल सम्झेर, भात सम्झेर खान्थ्यौं । आमाले देखाएको बाटोमा आज म यहाँ छु भन्दा मलाई खुसी लाग्छ ।

मेरो बुबाले कर्णाली प्राविधिक शिक्षालयमा क्यान्टिन चलाउनुहुन्थ्यो । त्यतिखेर मैले अनामनगरको कर्णाली माविमा कक्षा ६ मा पढ्थे । मैले बुबासँग बुबा मेरो कापी र कलम सकिएको छ किनिदिनुस् भनेँ । बुबाले मेरो ब्यापार भएको छैन अर्काे हप्ता आ भनेर पठाउनुभयो । पछि फेरि त्यही स्कुलमा बुबाले महिनाको सय रुपैयाँ पनि फि तिरिदिन नमानेपछि मैलै स्कुल नै परिवर्तन गरेर अर्काे श्री रत्न चण्डेश्वर उच्च माविमा भर्ना हुन गएँ ।

त्यसबेलै मैले ढुङ्गा फुटाएर ट्याक्टरलाई बेचेर वाकमेन र दुई जोर ब्याट्री किने । सँगसँगै स्वरसम्राट नारायणगोपालको गितिश्रद्धाञ्जली भाग–२ किनेँ । मैले पहिलोपटक नारायणगोपालको गीत लौ सुन म भन्छु मेरो रामकहानी भन्ने गीत सुनेको थिएँ ।

त्यसपछि गीतसंगीतप्रति मेरो मोह बड्दै गयो । त्यतिखेर नेपाली तारा जस्ता कार्यक्रम टेलिभिजमा आउँथे । तर टीभी थिएन, म त्यही कार्यक्रम हेर्न छिमेकको घरमा जाँदा ढोका नै थुनिदिए । त्यसपछि मैले फेरि ढुङ्गा र गिट्टी फुटाएर १२ इञ्चको ब्ल्याक एण्ड ह्वाइट टीभी किनेँ ।

एकदिन दिउँसो एक बजे स्कुलमा हाफटाइमको समय चलिरहेको थियो । त्यतिखेर मैले कक्षाकोठाभित्र बसेर गीत गाइरहेको रहेछु । मेरा शिक्षक पूर्णप्रसाद धिताल सरले सुनेपछि फेरि गाउ भन्नुभयो । मैले पछि स्कुलको वार्षिकोत्सवमा पनि गीत गाएँ । त्यो मेरो पहिलो स्टेज थियो र उहाँ नै मेरो पहिलो गुरु बन्नुभयो । स्टेजमा जाने मोह बड्दै गयो । मलाई ज्युँदो श्रीमानको विधुवा आमाको छोरा हुनुपर्छ भन्ने लाग्न थाल्यो ।

म नेपालगञ्जमा भएको मध्यपश्चिमाञ्चलस्तरीय छैठौं राष्ट्रिय खेलकुदमा सहभागी भएर स्वर्णपदक जितेँ । तर धनगढीमा भएको राष्ट्रियस्तरको खेलकुदमा भने सहभागी भए पनि स्वास्थ्यका कारण पुरस्कार जित्न सकिनँ । सायद मेरी आमाले खुवाएको जौको भातले काम गरेन । खेलाडी बन्ने मेरो सपना पूरा हुन सकेन मैले दौडिने सपना त्यही रोकेँ ।

२०६८ मा पदम रोकाय एकल साझ जुम्लामा भइरहेको थियो । मैले त्यहाँ एकपटक गीत गाउने अवसर दिनुस भनेर मागेँ । त्यसबेला राजधानीबाट आएका कलाकारभन्दा मेरो प्रस्तुतिले त्यहाँ आएका मान्छेको मन छोएछ । त्यसबेलै रोकायले मलाई एउटा गीत रेकर्ड गर्न दिन्छु काठमाडौं आउनुस भन्नुभयो । मैले ३५ हजार लगानीमा माया गर्ने जीवनसाथी भन्ने गीत रेकर्ड गरेँ । त्यतिखेर अडियोमात्रै चल्यो, त्यसको मुनाफाले मेरो जिन्दगी चलिरहेको छ, भलै आर्थिक मुनाफा हुन सकेन । नामको पछि दौडिएर जीवन बर्बाद नगर भन्नुहुन्थ्यो आमाले, तर एकदिन पक्कै खुसी फर्किन्छ होला भन्ने लागेरै मैले सँगीत छोड्न सकिन ।

पहिलो गीत चलेपछि सँगीतप्रतिको मेरो झुकाव झन् बढ्यो । तर काठमाडौंमा बसिरहने अवस्था थिएन । म जुम्ला फर्किने तयारी गरिरहेका बेला एक दिन साथी खड्कजीत रोकायसँग भेट भयो, उनले कलाको सम्मान गर्नका लागि जुम्ला नपठाउनुस् भनेर एकजना रमेश भण्डारी दाइसँग आग्रह गरे । उहाँले म जागिर खोजौंला भन्नुभयो, म जुम्ला फर्किएँ ।

तर निकै समय खबर आएन । एक दिन म धार्मिकस्थल ठाकुरज्यू र विष्टज्यूमा गएर मलाई काठमाडौं जाने अवसर जुटाइदिनुस् भनेर फर्किदै थिएँ, आधा बाटो नपुग्दै रमेश दाइको फोन आयो । उहाँले काम मिल्यो काठमाडौं आउ भन्नुभयो । मैले सडक डिभिजन कार्यालयमा काम सुरु गरेँ । तर असोजमा भर्ना भएको मान्छे पुससम्म पनि तलब आएन, काम के हो भन्ने मेसो पनि पाउन सकिनँ । पुसदेखिमात्रै मैले काम गर्न पाएँ । चार महिनाको तलब एकैचोटी आउँथ्यो, कोठा भाडा तिर्ने कसरी, सँगीत क्लास जाने कसरी भन्ने चिन्ताले नै पिरोल्थयो ।

२०७६ फागुन २८ गते बिहानको कुरा हो । मैले सँगीत साधना गरिरहेको बेला धुन निस्कियो । त्यसबेला शहरमा रेलको खुब चर्चा थियो । काठमाडौंमा रेलको कुरा हुँदै गर्दा कर्णालीमा मोटरबाटोकोसम्म परिकल्पना गरिएको थिएन, त्यो कुराले मलाई पिरोल्थ्यो । मेरो भोगाइ झलझल्ती आँखामा आउँथ्यो । त्यही सँगीतलाई साथ दिने शब्द खोज्दा मैले रेलको बाटो बन्दै छ रे रेल चढौला नेपालैमा हुम्ला मोटरबाटो छैन के चढौंला हिमालैमा भन्ने शब्द कोरेँ । त्यसपछि यी शब्द मैले साथी लेखराज गिरीलाई पठाएँ । त्यसमा कर्णालीको सबै अवस्थाको खाका पठाएको थिएँ । उहाँले चैत १ गते गीत पुरा गरेर पठाउनुभयो । गीत, रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा, हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा भयो ।

अहिले मलाई लाग्छ संसारमा सबैभन्दा ठूलो इच्छाशक्ति हो, इच्छाशक्ति ठूलो भयो भने एक दिन पक्कै सफल हुन सकिन्छ । न भुगोलले छेक्छ, न गरिबीले रोक्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट