पाकिस्तानी अभिनेता जिया मोहिउद्दीनको निधन

रंग नेपाल २०७९ फागुन १ मा प्रकाशित

एजेन्सी । पाकिस्तानका चर्चित अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ ।

जिया हलिउडमा काम गर्ने पहिलो पाकिस्तानी अभिनेता थिए । जियाको ९१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि रोगसँग लडिरहेका जियालाई पछिल्लो समय पेट दुख्ने र ज्वरो आएपछि कराँचीको अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको स्वास्थ्य बिग्रिएपछि केही शल्यक्रियापछि उनलाई लाइफ सपोर्ट सिस्टममा सारिएको थियो ।

जिया आफन्तका अनुसार सोमबार बिहान उनको सोही अस्पतालमा निधन भएको हो । जियाको अन्त्येष्टि कराँचीको डिफेन्स क्षेत्रमा गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । जियाको जन्म सन् १९३१ मा पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबादमा भएको थियो । अभिनयका अलावा उनले प्रसारण र कविता वाचनमा पनि आफूलाई स्थापित गरेका थिए । उनी झण्डै ६७ वर्षदेखि थ्रिएटर र फिल्म उद्योगसँग आवद्ध थ्रिए ।

जिया कराँचीको नेशनल इन्स्टिच्युट अफ परफॉर्मिङ आर्ट्सका अध्यक्ष इमेरेटस पनि थिए। उनले विभिन्न पत्रपत्रिकाका लागि स्तम्भ पनि लेखेका थिए। जियाले पाकिस्तानी फिल्म र टेलिभिजन कार्यक्रमका साथै ब्रिटिश फिल्म र टेलिभिजनमा काम गरेका थिए । जियाले ‘ए क्यारोट इज अ क्यारोट’, ‘थिएट्रिक्स’ र ‘द गॉड अफ इडल ट्री मेमोरिज एन्ड रिफ्लेक्शन्स’ नामक तीनवटा पुस्तक पनि लेखेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट