आजदेखि पृथ्वीबाट सहजै देख्न सकिन्छ दुर्लभ हरियो पुच्छ्रेतारा

रंग नेपाल २०७९ पुष २९ मा प्रकाशित

काठमाडौं  । दुर्लभ हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले बताएका छन् ।

आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवम् खगोलविद् डा सनतकुमार शर्माले बताए । यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ । मुस्लो हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार अमेरिकाको पालोमार वेधशालामा रहेको ज्विकी ट्रान्सिएन्ट फेसिलिटी (जेटीएफ)बाट पहिलो पटक सन् २०२२ मार्च २ मा निश्चित गरिएको यो धुमकेतु वा पुच्छ्रेतारा सन् २०२१ जुलाई १० देखि सन् २०२३ जनवरी ६ सम्म चार हजार ९ सय ६२ पटक अवलोकन गरिएको छ ।

यसले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा आज सूर्यको सबैभन्दा नजिक पुग्ने हुँदा यसको अवलोकन गर्न सकिन्छ । नेपालबाट यो दुर्लभ पुच्छ्रेतारालाई ध्रुवताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ । यो पुच्छ्रेताराको अवलोकन नाङ्गो आँखाका साथै वाइनाकुलर तथा टेलिस्कोपबाट समेत गर्न सकिने अध्यक्ष भट्टराईले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट