काठमाडौं । सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाखमा रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ ।
महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् ।
महोत्सवमा सहभागिता जनाउन चाहनेहरूको लागि दर्ता खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
पर्यटन प्रबर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरुको प्रदर्शन गरिनेछ ।
दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रबर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।
महोत्सव पहिलो वर्ष गोरखा जिल्लाको लाप्राकमा र दोस्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो । तेस्रो संस्करणको जागरूक युवा क्लब रामेछापले स्थानीय व्यवस्थापन गर्नेछ भने कार्यक्रम संयोजक चलचित्र निर्देशक कमल एक्चै मगर छन् ।