‘बलिदान’को टिजर सार्वजनिक

रंग नेपाल २०८० कार्तिक २७ मा प्रकाशित

काठमाडौं ।  छायांकनमा जानु अगावै चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ ।  आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् ।

टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिङ’ भनेका छन् । टिजर रिलिज गरिएता पनि चलचित्रका कलाकार तथा प्राविधिकको विषयलाई भने लुकाइएको छ । दोस्रो चरणमा कलाकार र अन्य प्राविधिकबारे खुलाइने निर्देशक सेनले बताए ।

एक मिनेट १४ सेकेन्ड लामो दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ ।

देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्त्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए । यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शनको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट