काठमाडौं । ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने भएका छन् ।
नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको यो सिजन ९ हो । प्रतियोगिताको फाइनलका लागि छनौट चरणको विभिन्न अडिसनबाट ३० फिमेल र १८ मेल गरेर ४८ प्रतियोगी छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
छानिएका प्रतियोगी अब एक महिनाको प्रशिक्षणसहित फाइनलको तयारीमा लाग्नेछन् । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ । प्रतियोगीको कोरियोग्राफी कोरियोग्राफर सविता कार्कीेले गर्नेछिन् ।
प्रतियोगितामा सहभागीका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ प्रावधान रहेको थियो । सोही अनुसार प्रतियोगी छानिएका हुन् ।
प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा आगामी सेब्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको छ । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने अध्यक्ष धमलाको विश्वास रहको छ ।