‘पुर्खाको थलो’मा पत्रकार गुरुङको गीत

रंग नेपाल २०८१ पुष २१ मा प्रकाशित

काठमाडौं । लमजुङका पत्रकार आश गुरुङ (आशबहादुर गुरुङ)द्वारा लिखित ‘ङ्योए नासारी’ बोलको गीत गुरुङ फिल्म ‘पुर्खाको थलो’को शीर्ष गीतको रूपमा समावेश गरिएको छ ।

ङ्योए नासारी गीतले विशेषगरी विदेशमा रहेका नेपालीहरूलाई आफ्नो गाउँ फर्कन प्रेरित गर्ने सन्देश दिएको छ । यसअघिका गुरुङ फिल्महरूमा विदेश नजान आग्रह गरिएको भए पनि यस पटक विदेशमा रहेकालाई स्वदेश फर्कन आह्वान गरिएको छ ।

गीतको संगीत संयोजन गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकूलपति गोरे गुरुङले गरेका छन् भने गायक राजबहादुर गुरुङले स्वर दिएका छन् । भिडियोको छायांकन पिटर गुरुङले गरेका हुन् र सम्पादन ज्योति प्रोडक्सन प्रालिमा विष्णुहरि तिमिल्सिनाले गरेका छन् ।

फिल्मको छायांकन कास्कीको मादी गाउँपालिका १०, भाचोकमा गरिएको छ ।

फिल्मका लेखक तथा निर्देशक ओमप्रकाश गुरुङ हुन् । कुबिना गुरुङ, दिल घले, उत्तरबहादुर गुरुङ, खिम कुमारी गुरुङ र जोग माया गुरुङ फिल्मका निर्माता हुन् ।

मुनाल फिल्मस् प्रालिको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा गणेशमान गुरुङ, लक्ष्मी गुरुङ, डिबी गुरुङ, लालशोभा गुरुङ, ओम गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, राजेन्द्र अधिकारी, खिमकुमारी गुरुङ, जोगमाया गुरुङ र गम गुरुङलगायतले अभिनय गरेका छन् । फिल्म केही महिनाभित्रै प्रदर्शनमा आउने जनाइएको छ ।

तमू ल्होसारको अवसरमा रोधि प्लस युट्युब च्यानलमार्फत भिडियोसहितको गीत सार्वजनिक गरिएको छ ।

पत्रकार गुरुङले यसअघि पनि गुरुङ फिल्म नानु, मैंरिमो, टुकी, मि न्होंर्बे टलगायत फिल्म तथा म्युजिक भिडियो र गाउँ चिनारी गीत लेखेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट