काठमाडौं । माघ १६ गते रिलिज हुने बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ ।
गीतको भिडियोमा प्रदीप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ तर, चलचित्रको टिजरमा भने अभिनेताद्वय प्रदीप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूले यस चलचित्रको कथा अर्कै रहेको संकेत गरेको थियो ।
गीतको भिडियोले यस चलचित्रमा प्रदीप दोहोरो भूमिकामा त छैनन् ? भन्ने प्रश्न पनि उब्जाएको छ । अभिनेत्री आनासँगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकाका दृश्य गीतमा देखिएका छन् ।
गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन् । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको संगीतले गीतलाई झन् सशक्त बनाएको छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् । कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ ।
चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ ।
चलचित्रमा प्रदीप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
‘एक्टरः टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमनकुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सहनिर्माता अनीश भुसाल रहेका छन् ।
चलचित्रका प्राविधिक पक्ष झन् प्रभावशाली देखिन्छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रमा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले संगीत दिएका छन् ।
सार्वजनिक गीत ‘के भरोसा गरम’ले दर्शकलाई चलचित्रप्रति अझ नजिक ल्याउने विश्वास गरिएको छ ।