काठमाडौं । सामाजिक सञ्जाल विशेषगरी टिकटकमा विवेक पंगेनी र सिर्जना पंगेनीलाई नचिन्ने कमै छन् होलान् ।
अमेरिकामा रहेर विवके ब्रेन क्यान्सरसँग जुधिरहेका थिए भने सिर्जना श्रीमानलाई नयाँ जीवन दिन जिउ ज्यान दिएर लागेकी थिइन् । तर दैवको अगाडि सिर्जनाको केही लागेन । विवेक सिर्जनालाई एक्लै पारेर ब्रम्हलिन भएका छन् ।
विवेकको अमेरिकामा निधन भएको हो । विवेकका भाइ मिनराजको चार महिनाअघि मात्रै सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । चार महिनाको अन्तरालमा दाजु भाईको मृत्यु भएको हो ।
विवेकलाई नयाँ जीवन दिन सिर्जनाले गरेको त्यागको जति व्याख्या गरेपनि सकिन्न । यही त्यागले सृजनाको चौतर्फी प्रशंशा हुने गरेको छ । श्रीमानको अवस्थाकाबारेमा पूर्ण जानकार रहेकी सिर्जनाले मनमा जति पीडा भएपनि सधैँ बिरामी श्रीमानलाई खुशी पारिरहिन्, हौसला दिइरहिन् । उनले श्रीमानसँगका भिडिओहरू सामाजिक सञ्जालमा पनि पोष्ट गरिरहन्थिन् ।
बर्दियाको बढैयाताल गाउँपालिका- ५ राजपुरका विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई पूर्ण छात्रवृत्तिमा अमेरिका गएका थिए । अमेरिका पुगेको ५ महिनापछि नै आमाको निधन भएपछि उनी नेपाल फर्किएर आएका थिए ।
आमाको काजक्रिया सकेर फर्किन लाग्दा उनलाई पनि ब्रेन क्यान्सर रहेको पत्ता लागेको थियो । त्यो पनि चौथो स्टेजको । ब्रेन क्यान्सर रहेको पत्ता लागेपछि विवेक श्रीमती सृजनालाई लिएर अमेरिका उडे र उतै उपचार गराउँदै आएका थिए । उनको उपचारका लागि विश्वभर रहेका नेपालीले करोडौं सहयोग समेत गरेका थिए ।
सृजनाले श्रीमान विवेकको अवस्थाबारे टिकटक लगायतका सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकलाई निरन्तर जानकारी गराउँदै आएकी थिइन् ।